रुसी सेनामा नेपालीलाई भर्ना हुन उक्साउनेमाथि कारबाही हुन्छ : रक्षामन्त्री खड्का

रुसी सेनामा नेपालीलाई भर्ना हुन उक्साउनेमाथि कारबाही हुन्छ : रक्षामन्त्री खड्का


काठमाडौ. । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्।

उपप्रधानमन्त्री खड्काले शुक्रबार राष्ट्रिय सभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सो कुरा बताएका हुन्। उनले नेपाली नागरिकहरू द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई सरकारले निरुत्साहित गर्ने पनि बताए।

उपप्रधानमन्त्री खड्काले स्वदेश तथा विदेशमा रोजगारीको छनोट गरी जाने अधिकार नेपालको संविधानले प्रत्येक नागरिकलाई दिए पनि उनीहरूको सुरक्षा गर्ने दायित्व सरकारको भएको स्पष्ट पारे। उनले प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेशा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न सरकार सचेत रहेको पनि दोहोर्‍याए।

उपप्रधानमन्त्री खड्काले हेटौँडा कपडा उद्योग नेपाली सेनाले सञ्चालन गर्ने बारेमा छलफल भए पनि निष्कर्षमा पुगि नसकिएको बताए। नेपाली सेनालाई कपडामा आत्मनिर्भर बनाउनका लागि सो विषयमा छलफल भइरहेको उनको स्पष्टिकरण थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?