यासोक–फिक्कल खण्डमा तत्काल खानेपानी संचालन गर्ने सहमती

यासोक–फिक्कल खण्डमा तत्काल खानेपानी संचालन गर्ने सहमती


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक–फिक्कल सडक खण्डको खानेपानी योजना तत्काल संचालन गर्ने सहमती जुटेको छ । बुधवार गाउँपालिकाको कार्यालयमा निर्माण व्यवसायी, उपभोक्ता समिति र जनप्रतिनिधि सहितको त्रिपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

तमोर पंम्पिङ खानेपानी योजना अन्तरर्गत फिक्कल खण्डमा कालोपत्रेको काम गर्दै आएको सपना/हिम्दुङ थेकर जेभी क्षति पु¥याएको थियो । समन्वयको अभावमा खानेपानी योजनामा क्षति पुगेपछि लामो समयदेखि खानेपानी संचालनमा कठिनाई उत्पन्न भएको थियो ।

लामो समयको प्रयासपछि निर्माण कम्पनी र उपभोक्ता समिति बीच चैत १० गतेसम्ममा योजना संचालन गर्ने बिषयमा सहमती जुटेको हो । सहमती अनुसार गाउँपालिकाले १२ सय २० मिटर पाइप उपलब्ध गराउनु पर्नेछ । पालिकाले उपलब्ध गराएको पाइपमा अपुग भए निर्माण कम्पनीले थप गर्नु पर्ने उल्लेख छ । तर पाइप जडानमा प्राविधि सहयोग भने उपभोक्ता समितिले गर्ने यासोक सुख्खाक्षेत्र तमोर पंम्पिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष मेघराज निरौलाले जनाए ।

उत्तरे–यासोक कालोपत्रेको काम गर्दै आएको निर्माण कम्पनीले काम गर्ने क्रममा योजनाको पाइपमा क्षति पु¥याएको थियो । क्षति भएको योजना पुनःसंचालनमा ल्याउन गाउँपालिकाले आवश्यक समन्वय गरेको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए ।

सो बैठकमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ र ४ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती र फगेन्द्रकुमार सम्बाहाम्फे, उपभोक्ता समितिका महासचिव जकेन्द्र लावती र निर्माण व्यवसायी दिलिप चौहान लगायतको उपस्थितिमा सहमती जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?