विष्णु रिमाल

नेताहरूलाई मध्यपहाड र जनतालाई एमाले नेतृत्व चिनाउने सङ्कल्प यात्रा

नेताहरूलाई मध्यपहाड र जनतालाई एमाले नेतृत्व चिनाउने सङ्कल्प यात्रा

बाटो र बिजुलीसँगै शिक्षा र अस्पताल आवश्यक छ


नेकपा (एमाले)ले मंसिर १४ देखि पुस १ गतेसम्म पुष्पलाल (मध्यपहाडी) राजमार्ग झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सञ्चालन ग¥यो । धेरै मानिसले यो यात्रालाई पदयात्रा पनि भने तर यो पदयात्रा नभएर बसकै यात्रा हो । तर फरक यात्रा । विगतका भन्दा एकदमै फरक यात्रा । आमसभा गर्ने, भाषण गर्ने, आफ्ना कुरा राख्ने र हिँड्ने यात्रा होइन, चुनावी सभा जस्तो पनि होइन ।

हामी जनतालाई भेट्न चाहन्थ्यौँ, जनताका कुरा सुन्न चाहन्थ्यौँ, जनताको सुझाव लिन चाहन्थ्यौँ । स्थानीय स्तरका सुझाव–पत्र बुझ्ने, ध्यानाकर्षण–पत्र बुझ्ने, नागरिकका गुनासो सुन्ने, समाधानको बाटो खोज्ने यात्रा थियो यो ।

यो यात्रालाई हामीले क्याराभान अर्थात् लस्कर भनेका थियौँ । एमालेको लस्कर हिँड्छ, लस्करलाई भेट्न बाटो भरी मान्छे बस्छन् । जसरी रेलको इञ्जिन दौडन्छ, सुरुदेखि अन्त्यसम्म, विभिन्न डिब्बा विभिन्न समयमा जोडिन्छन्, त्यसै गरी प्रदेश र जिल्लामा विभिन्न ठाउँमा नेता कार्यकर्ता जोडिनुहुन्छ तर एउटा छरितो टिम सुरुदेखि अन्त्यसम्म हिँड्छ भन्ने हाम्रो परिकल्पना थियो । मूलतः त्यो परिकल्पना अन्तर्गत नै झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म पार्टी अध्यक्षको नेतृत्वमा यात्रा सम्पन्न भयो ।

पहिले पनि पार्टीले धेरै कार्यक्रम र सभा गरेकै हो । ती कार्यक्रम र सभा गर्दा पार्टीले जनतालाई उतार्न धेरै मेहनत गर्नु पर्दथ्यो । अहिलेको पल्ट हामीले आह्वान मात्र ग¥यौँ, अरू केही पनि गरेनौँ, जनता आफैँ आए ।

ठुला नेताहरू ठुलै होटेलमा बस्छन् । ठुलाबडासँगै सङ्गत गर्छन्, साधारण मान्छेको घरमा बस्दैनन्, साधारण मान्छेका कुरा सुन्दैनन् भन्ने भ्रमपूर्ण धारणा नेपाली जनमानसमा बनेको थियो । त्यसलाई चिर्ने यात्रा थियो यो । जनताकै कुरा सुन्ने, जनताकै घरमा बस्ने, जनताकै मेसमा खाने यात्रा थियो यो । नितान्त देशको समृद्धिको लागि संकल्प यात्रा थियो यो ।

मध्यपहाडी लोकमार्गको ६ वटा उद्देश्यलाई नेकपा एमालेले पहिला नै सूत्रबद्ध गरेको थियो । पहिलो त विकास सहरबाट गाउँ पस्ने मानिस गाउँबाट सहर पस्ने र विदेश जाने किन भइरहेको छ रु त्यसको समाधान खोजी गर्नुपर्छ भन्ने थियो ।

दोस्रो, पुष्पलाल मध्यपहाडी लोकमार्ग नेकपा एमालेको सोचको उपज हो । बसाइसराइलाई रोक्ने र पहाडमा नयाँ सहरीकरण गरी पहाडमा नै बस्ने वातावरण सिर्जना गर्ने सो सडक निर्माणको मुख्य उद्देश्य थियो । यसको लागि मध्यपहाडमा नै १० वटा ठुला सहर बनाउने हाम्रो योजना थियो । ती मध्ये केही सहरलाई स्मार्ट सहरको रूपमा विकास गर्ने योजना सडकको परिकल्पना गर्दै गरिएको थियो । ती १० वटा सहर बने कि बनेनन् रु नबने किन बनेनन् भन्ने कारण खोज्नु यात्राको अर्को उद्देश्य थियो ।

तेस्रो, मध्य पहाड हाम्रो उर्वर भूमि हो । त्यसमा जैविक विविधता छ र कृषिको लागि पनि उपयुक्त छ । त्यसमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण किन हुन सकेन रु त्यसलाई कसरी बढाउन सकिन्छ ? ती विषयको खोजी गर्नुपर्ने थियो ।

मध्यपहाड भनेको सांस्कृतिक विविधता भएको ठाउँ पनि हो । सांस्कृतिक विविधता राष्ट्रिय एकता र राष्ट्र निर्माणको लागि जरुरी शक्ति हो । त्यसमा पनि एमालेले आफूलाई जोड्न चाहिरहेको थियो ।

सबैभन्दा महत्त्वपूर्ण विषय यात्राको नारा नै थियो कि– ‘सम्बन्ध स्थानीय स् सन्देश राष्ट्रिय ।’ स्थानीय तहका जनतासँग पार्टीलाई जोड्ने हाम्रो मूल उद्देश्य थियो । त्यो जोडिनु भनेको राष्ट्रिय सन्देश दिने कुरा हो । नेपालमा बलियो राष्ट्रिय शक्ति नबनेसम्म यो प्रणाली पनि जोगिँदैन र लोकतन्त्रको पनि विकास हुन सक्दैन भनेर हामीले बारम्बार भन्दै आएका छौँ । त्यो जोगाउनको लागि के गर्न सकिन्छ भनेर नागरिकसँग छलफल गर्नुपर्ने थियो । त्यो गर्नको लागि पनि हामी यात्रामा निस्किएका थियौँ ।

यिनै विषयलाई जोडेर हामीले मध्यपहाडी यात्रा थालनी गरेका थियौँ । यात्राको क्रममा झण्डै २ हजार किलोमिटर दुरी पार गरियो । यदि यो लोकमार्गको काम सबै पूरा भएको थियो भने करिब १८ सय किलोमिटरमा यो यात्रा तय हुने थियो । त्यही यात्राको क्रममा देखिएको समस्या संकलन गरी समाधानको उपाय खोज्न यो यात्रा गरिएको थियो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको अहिलेको यात्रालाई हेर्न हो भने यो एउटा मेला जस्तो भयो । विकास र समृद्धि खोज्ने राजनीतिक महामेला । त्यसमा हामीले कुनै पनि अररा राजनीतिक विषय राखेनौँ, कुनै अप्ठेरा राजनीतिक नारा बनाएनौँ, केवल समृद्धिका विषयमा कुरा गर्ने भन्यौँ ।

वास्तवमा हामी जनताले के भन्छन्, के सोचिरहेका छन् त्यो बुझ्न र सुन्न चाहन्थ्यौँ । नागरिकहरू हाम्रो पार्टी अध्यक्षलाई भेट्न चाहन्थे, पार्टीको नेतृत्वलाई भेट्न चाहन्थे । गाउँका नागरिकहरू टेलिभिजनमा देखिएका अनुहारलाई प्रत्यक्ष नजिकबाट निहाल्न चाहन्थे । फोटो खिच्न चाहन्थे । नागरिकको यो रहर पूरा गराउन पनि यो अभियान थालिएको थियो ।

यस मानेमा मूलतः यो अभियान सफल भएको छ । अभूतपूर्व रूपमा ऐतिहासिक भएको छ । जुन तरिकाले नागरिकले यसलाई साथ दिए, त्यो सारै नै उल्लेखनीय छ ।

यात्राको क्रममा ४२ भन्दा बढी ठाउँमा सभा भए । ती सभाका साइज फरक फरक छन् । ठुला साइजका सभा एक खालका छन् । साना साइजका सभा पनि आफैँमा प्रभावकारी छन् । हरेक सभाका आफ्ना विशेषता छन् । सुर्खेतमा पानी परेको बेलामा पनि छाता ओढेर नागरिकहरू दुई घण्टा बढी पर्खिएर पार्टी अध्यक्षको भनाइ सुनेर मात्र हिँड्नुभयो ।

नुवाकोटको बट्टारमा दिउँसो राखिएको सभामा राति १० बजेसम्म पर्खिएर नागरिकहरूले अध्यक्षको मन्तव्य सुन्नुभयो । सामान्यतया डाकेर ल्याइएका मानिसहरू त्यति समयसम्म बस्दैनन् । उहाँहरू विना आक्रोश धैर्यताका साथ कार्यक्रममा सहभागी हुनुभयो र कार्यक्रम सकेपछि मात्र फर्कनुभयो । ठिक त्यस्तै स्थिति मन्थलीमा देखियो । मन्थलीमा पनि १० बजेपछि सभा भयो ।

पार्टीको आधार कमजोर भएका ठाउँमा पनि ठुला ठुला सभा भए । त्यस्ता ठाउँमा पनि नागरिकको उल्लेख्य परिस्थिति रह्यो । फरक राजनीतिक विचार राख्ने दलका नेताहरू पनि एमाले अध्यक्षलाई स्वागत गर्न बस्नुभयो । उहाँलाई सुन्न बस्नुभयो । ठाउँ ठाउँमा इतिहास तोड्ने खालका सभाहरू भए । बन्द, हडतालले कार्यक्रम भाँड्ने प्रयासका बाबजुद पनि कोशी प्रदेशमा ऐतिहासिक र अहिलेसम्म कहिल्यै हुन नसकेका ठुला सभाहरू भए ।

यात्राको क्रममा एमालेको पालामा सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरूको अवलोकन गर्ने अवसर पनि मिल्यो । ती आयोजनामा अहिलेको सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा तोकिएको काम हुन नसकेका र आयोजनाहरू अलपत्र पर्ने अवस्थामा पुगेका पनि देखियो । एमालेले नै सुरु गरेका योजना समयमा सम्पन्न गराउन दबाब सिर्जनाको लागि पहल गर्नुप¥यो भन्ने सुझाव पनि आएका छन् । धेरै टेक्निकल विषयमा पनि यात्राको क्रममा हामीले सुझाव पाएका छौँ ।

यो यात्रामा विकास निर्माणको विषयमा धेरै गम्भीर छलफल भएका छन् । भूकम्पले प्रभावित भएका क्षेत्रमा विभिन्न दलका नेताहरूसँग समेत अन्तरक्रिया गरियो । पीडितको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा धेरै महत्पूर्ण छलफल भए । पाख्रिबासमा कृषिविज्ञहरुसँग छलफल गरियो । उहाँले कृषि क्षेत्रका समस्या र समाधानका उपायबारे धेरै सुझाव दिनुभएको छ । त्यो हाम्रो लागि धेरै महत्त्वपूर्ण दस्ताबेज बन्ने छ ।

मध्यपहाडी पुष्पलाल राजमार्गको सन्दर्भमा हामी यसको मार्केटिङ पनि गर्न चाहन्थ्यौँ । यदि यो बाटो बनिसकेको छ भने गाडी किन गुड्दैनन् रु किनभने यो वैकल्पिक बाटो हो । यसबाट नयाँ विकास गर्न सकिन्छ । अरू सडक बनेका ठाउँमा छिटो सहरीकरण भएका छन् तर यो बाटोको छेउमा सहरीकरण हुन सकेको छैन । यसको कारण खोज्न जरुरी छ । त्यस कारण केपी ओलीलाई हिँडाइयो भने यो बाटो हिँड्न योग्य छ भन्ने सन्देश प्रवाह गर्नु पनि हाम्रो उद्देश्य थियो ।

यात्राको क्रममा केही ठाउँमा अहिले पनि अलाइनमेण्टको विवाद रहेको पाइयो । १५ मिटर कि ३१ मिटर भन्ने विषय नटुङ्गिएको कारण जग्गाको झमेला रहेको पनि देखियो । केही केही ठाउँमा बाटोलाई डाइभर्ट गर्नुपर्ने स्थिति अझ पनि रहिरहेका पाइयो । यसलाई हामीले पहिल्यै पनि रोड अडिट गरेर संशोधन गर्छौँ भनेका थियौँ । अब त्यस तर्फ जानु पर्ने छ । त्यो कुरा पनि हामीले आफ्नै आँखाले हेर्न पायौँ ।

यात्राले मध्य पहाडको समस्या र सम्भावनाको खाका बनाउने डकुमेन्ट दिएको छ । धेरै त लिखित रूपमा पनि आएका छन् । केही मौखिक रूपमा आएका छन् । धेरै हामीले आफ्नै आँखाले देखेका छौँ । त्यसको विश्लेषण गर्न बाँकी छ । त्यसलाई मिहिन ढङ्गले विश्लेषण गरेर मध्यपहाड विकासको खाका बनाइने छ ।

मध्यपहाडमा धेरै खालको कृषि र पशुपालनको सम्भावना छ । त्यसलाई व्यवसायीकरण गरियो भने समृद्धिको आधार तयार हुन्छ । तर त्यसमा बिमा र बजारीकरणको जिम्मा राज्यले लिनु पर्छ । यी समस्या मध्यपहाडको कृषिले भोगिरहेको छ । मध्यपहाडको सुन्तला र सयपत्रीको मात्रै उचित बजारीकरण गर्न सक्ने हो भने त्यहाँका मानिस मालामाल बन्न सक्छन् । तर यसलाई एउटा प्याकेज बनाएर लैजानु पर्छ भन्ने हामीले पहिचान गरेको समस्या हो ।

गाउँबाट अहिले युवा बाहिर गएका छन् । युवालाई त्यहीँ बस्ने वातावरण बनाउन पहाडमा कृषिमा व्यवसायीकरण र सडक छेउमा बजारीकरण गर्नुपर्छ । त्यसो भयो भने पहाडमा नै उद्यमशीलता सिर्जना हुन्छ र उद्यमशीलताले मानिसलाई पहाडमा नै रोक्छ । यसले विदेश जाने लहरलाई रोक्न सकिन्छ ।

अर्को महत्त्वपूर्ण कुरा बाटो र बिजुली पुगेपछि गाउँमा चेतना बढेको छ । अब बाटो र बिजुलीसँगै शिक्षा र अस्पताल आवश्यक छ । गुणस्तरीय शिक्षा दिने शिक्षण संस्था र सुविधा सम्पन्न अस्पताल नभएसम्म जति कुरा गरे पनि मानिस गाउँमा बस्दैन ।

त्यही भएर एमालेले निरोगी नेपालको अवधारणा ल्यायौँ । स्वास्थ्य बिमा र एक गाउँ एक अस्पतालको अवधारणा ल्यायौँ । तर अहिलेको सरकारले ती अस्पतालको बजेट काटिदियो । हामीले बनाएको प्लान अहिलेको सरकारले भत्काइदिएको यात्राको क्रममा हामीले महसुस ग¥यौँ ।

यात्राको क्रममा ३० वटा जिल्ला छोइयो । ३० वटा जिल्लाका अनेकौँ खालका विविधता हेर्ने र बुझ्ने मौका पाइयो । यस हिसाबले पनि यो यात्रा निक्कै नै सफल भएको छ ।

यो यात्राले नेकपा एमालेलाई आन्तरिक रूपमा धेरै नै राम्रो गरेको छ । यो यस मानेमा पनि ऐतिहासिक भएको छ कि, कुनै पनि राजनीतिक दलको नेतृत्व यसरी एकैपटक पश्चिमदेखि पूर्वसम्म पुगेको यो नै पहिलो घटना हो । २५ लाख बढी जनताले हामीसँग प्रत्यक्ष परोक्ष रूपले भेट्नुभयो । नेताहरूलाई ग्राउण्ड जिरोबाट नेपाल परिचय गराउने र जनतालाई समग्र एमालेको नेतृत्व कस्तो छ भन्ने चिनाउने ।

यो दुइवटै काम यो यात्राले गरेको छ । एमालेमा रहेको सामूहिकता, एमालेमा रहेका सरलता, यी सबै कुरा यो यात्रामा देखाउन पाइएको छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएका मानिसहरू तारे होटेलमा बस्छन्, मिठो खान्छन् भन्ने परेको थियो । यो यात्रामा एउटै हलमा नेताहरू लाइन लागेर पनि सुत्नुभयो । धेरै ठाउँमा होम स्टेमा बस्नुभयो । आफ्ना कार्यकर्ताका घरमा बस्नुभयो ।

गर्वका साथ जनताले तयार गरेको मेसमा खानुभयो । आफू चढ्ने सवारी साधनलाई एउटा युनिट बनाएर पुरै युनिट सानो ठुलो नभनी एउटै वासस्थानमा बस्ने काम भयो । यसबाट समभाव प्रकट हुने मौका मिल्यो । यो यात्राले नेपालको राजनीतिमा नयाँ सन्देश छाड्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?