पाकिस्तानको राष्ट्रपतिमा जर्दारीको चर्चा

पाकिस्तानको राष्ट्रपतिमा जर्दारीको चर्चा


काठमाडौं । पाकिस्तानमा नयाँ सरकारको चित्र स्पष्ट हुँदै गएको देखिन्छ । जियो न्युज लाइभको रिपोर्ट अनुसार इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआ) बाहेक ६ वटाभन्दा बढी दलहरू मिलेर सरकार बनाउन सक्छन् ।

सरकारलाई बाह्य सहयोगको घोषणा गरेको पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० सरकारमा सामेल नभए पनि बार्गेनिङ गरिरहेको छ । बिलावलको यो पार्टी आफ्ना पिता आसिफ अलीलाई राष्ट्रपति बनाउन चाहन्छ । यसबाहेक उनी सिनेटको अध्यक्ष र राष्ट्रिय सभाको सभामुख पदको खोजीमा छन् ।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एक सिटको निर्वाचन स्थगित भएको छ भने एक सिट एनए ८८ को नतिजा अस्वीकृत भएको छ । त्यहाँ आज फेरि मतदान हुँदैछ । बाँकी ७० सिट आरक्षित छन् ।

नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन), आसिफ अली जरदारी र बिलावल भुट्टोको पीपीपी गठबन्धनका मुख्य साझेदार हुनेछन् । यस बाहेक एमक्युएमपी, एमएल–क्यु, आइपीपी र बीएपी जस्ता साना दलहरू गठबन्धनमा सामेल हुने सम्भावना बढेको छ ।

यी सबै दल मिलेर फेरि एकपटक पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) बनाउने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अप्रिल २०२२ मा इमरानको सरकार पतन भएपछि पनि पीडीएम बनेको थियो । त्यसबेला १३ दलहरू संलग्न थिए र शाहबाज सरिफको नेतृत्वमा त्यो सरकार जम्मा १६ महिना चल्यो । यसपछि राष्ट्रियसभाको कार्यकाल पूरा भई देश सञ्चालनको जिम्मेवारी कार्यवाहक सरकारले लिएको थियो । अनवर उल हक कक्कड प्रधानमन्त्री भए र अहिले पनि छन् ।

नयाँ सरकारमा पीएमएल–क्यू प्रमुख चौधरी शुजात हुसैन र आसिफ अली जर्दारीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसबाहेक नवाज शरीफ पनि त्यहाँ हुनेछन्, तर उनले सरकारमा कुनै पद लिने छैनन् ।

बिलावल भुट्टोले यसअघि नै प्रधानमन्त्री पदका लागि आफ्नो दाबी फिर्ता लिएको स्पष्ट पारिसकेका छन् । उनका अनुसार निर्वाचनमा हाम्रो पार्टीले यो पदमा दाबी गर्न पर्याप्त सिट पाएको छैन । त्यसैले अर्को पार्टीले मौका पाउनुपर्छ र यो पार्टी नवाजको पीएमएल–एन हो ।

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । अब उनको पार्टी पीपीपी जरदारीलाई दोस्रो पटक राष्ट्रपति बनाउन चाहन्छ । वास्तवमा पीपीपी सरकारमा नभए पनि सरकार र संसद दुवैलाई नियन्त्रण गर्न चाहन्छ ।

त्यसैले उनी सिनेटको अध्यक्ष र राष्ट्रिय सभाको सभामुख पदको खोजीमा छन् । पीपीपीले आसिफ अली जरदारीलाई राष्ट्रपति बनाउनु पर्ने बताएको छ । अन्य दलहरू पनि यस विषयमा सजिलै सहमत हुनेछन् । ६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए ।

मुलुक अहिले इतिहासकै सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको र यस्तो अवस्थामा राष्ट्रपतिको भूमिका निकै महत्वपूर्ण हुने पीपीपीले जनाएको छ । अनुभवी व्यक्तिलाई राष्ट्रपति बनाउन आवश्यक छ र यस सन्दर्भमा जरदारी नै उपयुक्त विकल्प रहेको पाकिस्तानी सञ्चारमाध्यमको पनि दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?